एजेन्सी । न्युजिल्याण्डका अलराउण्डर क्रिकेटर केरी एन्डरसनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन् ।
एन्डरसनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गर्दै अमेरिकाको मेजर क्रिकेट लिगमा तीन वर्षको सम्झौता गरेका छन् ।
'क्रिकेटमा अझै धेरै सफलता हात पार्न र खेल्न चाहन्थे तर कहिलेकाँही समयले केही अवसर सिर्जना गर्छ र कहिल्यै नसोचेको दिशातर्फ लाग्छ,' एन्डरसनले भने, 'न्युजिल्याण्ड क्रिकेटले मेरो लागि गरेको सबै कुरा प्रशंसनीय छ ।'
२९ वर्षे एन्डरसनले न्युजिल्याण्डका लागि १३ टेस्ट, ४९ एकदिवसीय र ३१ टी-ट्वान्टी क्रिकेट खेलेका छन् ।
एन्डरसन न्युजिल्याण्डका सफल क्रिकेट खेलाडी हुन् ।
'यो निर्णय लिन मेरो लागि सहज थिएन । मैले आफ्नो लागि धेरै सोचे र यो निर्णय लिएको छु,' उनले थपे।
एन्डरसनले न्युजिल्याण्डका लागि ९३ अन्तराष्ट्रिय खेलमा २ शतक र १० अर्धशतक बनाएका छन् ।
सबै फर्म्याटमा २ हजार २ सय ७७ रन बनाएका उनले ९० विकेट लिएका छन् ।
यस्तै सन् २०१३ मा उनले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमान बनाएका थिए । वेस्ट इण्डिजविरुद्ध उनले ३६ बलमा शतक पुरा गरेका थिए ।
यस कीर्तिमानी अहिले दक्षिण अफ्रिकाका एबी डी भिलियर्सको नाममा रहेको छ । सन् २०१४ मा उनले ३१ बलमा शतक पुरा गर्दै कीर्तिमान भंग गरेका थिए ।
सन् २०१५ मा न्युजिल्याण्डले एकदिवसीय विश्वकपको उपविजेता बन्दा एन्डरसनले टिमको मुख्य खेलाडी समेत रहेका थिए ।
अन्तिम पटक उनले न्युजिल्याण्डको लागि सन् २०१८ मा टी-ट्वान्टी क्रिकेट खेलेका थिए ।