काठमाडौं । नेपाली राष्ट्रिय टिममा रहेका खेलाडीको सहभागिता रहने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता मंसिर अन्तिम साता आयोजना हुने भएको छ ।
बागमती प्रदेश क्रिकेट संघको आयोजनामा हुने प्रतियोगिता मंसिर २७ देखि ३० गतेसम्म संचालन हुनेछ ।
आयोजक प्रदेश संघले शनिबार एक विज्ञप्ति निकाल्दै कोरोना भाईरसको स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ ।
प्रतियोगिता चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा हुनेछ ।
प्रतियोगितामा तीन टिम हुनेछ । र, राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडी र अन्य घरेलु क्रिकेटका खेलाडीलाई समेटेर टिम बनाईनेछ ।
आयोजकले प्रतियोगिता टी-ट्वान्टी र एकदिवसीय फर्म्याटमध्ये एक हुने जनाएको छ ।
चितवन जिल्ला क्रिकेट संघसँगको सहकार्य हुने प्रतियोगिताको व्यवस्थापन क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले गर्नेछ ।
यस्तै प्रतियोगिताको लागि बागमती प्रदेश र भरतपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको आयोजकले जनाएको छ ।