जनकपुर । प्रदेश क्रिकेट संघ-२ ले प्रदेश स्तरीय महिला तथा पुरुष क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलाडी छनोटका लागि प्रदेश-२ ले प्रदेश स्तरीय प्रतियोगिता गर्ने भएको हो ।
प्रदेश-२ क्रिकेट संघले शनिबार बसेको बैठकले छनोटका लागि प्रतियोगिता संचालन गर्ने निर्णय गरिएको जनाएको छ ।
प्रदेश संघले सप्तरी जिल्ला क्रिकेट संघलाई महिलाको प्रतियोगिता गर्न र बन्द प्रशिक्षणको जिम्मेवारी दिएको छ ।
पुरुषतर्फ बारा जिल्ला क्रिकेट संघलाई ४ जिल्ला (बारा, पर्सा, सर्लाहि र रौतहट) को प्रतियोगिता लिगको आधारमा संचालन गर्ने तथा बन्द प्रशिक्षणको जिम्मेवारी दिएको छ ।
त्यस्तै धनुषा जिल्ला क्रिकेट संघलाई ४ जिल्ला (धनुषा, महोतरी, सिरहा र सप्तरी) को प्रतियोगिता संचालन गर्नुको साथै सेमिफाईनल र फाईनल खेल संचालनको जिम्मेवारी दिएको छ ।
बैठकले प्रतियोगिताको तालिका र मिति भने आइतबार बस्ने बैठकबाट पारित गर्ने निर्णय गरेको छ ।
बैठकले नेपालका पहिलो अन्तराष्ट्रिय कप्तान उत्तम कर्मचार्यलाई नेपाल क्रिकेट संघको छनौट समिति प्रमुखमा चयन भएकोमा बधाई दिदै कार्यकालको शुभकामना दिने समेत निर्णय गरेको छ ।