एजेन्सी । घरेलु टिम न्युजिल्याण्डविरुद्धको पहिलो टेस्टमा वेस्ट इन्डिज फलो अनमा परेको छ ।
ह्यामिल्टनमा जारी टेस्टको तेस्रो दिन शनिबार पहिलो इनिङ्समा १ सय ३८ रन मात्र बनाउन सकेपछि वेस्ट इन्डिज फलो अनमा परेको हो ।
वेस्ट इन्डिज पहिलो इनिङ्समा ३ सय ८१ रनले पछि रहेको छ ।
वेस्ट इन्डिजका लागि जोन क्यापबेलले २६ तथा कप्तान जासन होल्डरले अविजित २५ रन बनाए ।
यस्तै जेर्मिने ब्लाकउडले २३ रन जोड्दा कार्लोस ब्रेथवेटले २१ रन बनाए । चोटका कारण वेस्ट इन्डिजका शेन डरिचले ब्याटिङ गरेनन् ।
वेस्ट इन्डिजको इनिङ्स ध्वस्त बनाउन न्युजिल्याण्डका टिम साउथेले ४ विकेट लिए । नेल वाग्नेरले ३ तथा केली जेमिसनले २ विकेट लिए ।
फलो अनमा परेको वेस्ट इन्डिजले दोस्रो इनिङ्समा समेत खराब प्रदर्शन गरिरहेको छ । वेस्ट इन्डिजले यो खबर तयार गर्दासम्म २७ रन जोड्दा ४ विकेट गुमाईसकेको छ ।
यस अघि न्युजिल्याण्डले शुक्रबार ७ विकेट गुमाएर ५ सय १९ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गरेको छ ।
न्युजिल्याण्डको उच्च स्कोरमा कप्तान केन विलियम्सनले २ सय ५१ रनको दोहोरो शतकीय इनिङ्स खेले । टेस्टमा विलियम्सनको यो तेस्रो दोहोरो शतक हो ।
यस्तै टम लाथमले ८६ रनको अर्धशतकीय इनिङ्स खेल्दा केली जेमिसनले अविजित रहदै ५१ रन बनाए ।
रोस टेलरले ३८ तथा टम ब्लुनडेलले १४ रन बनाए ।
वेस्ट इन्डिजका केमार रोच र शानन ग्राबियलले ३/३ विकेट लिए ।
न्युजिल्याण्ड भ्रमणमा रहेको वेस्ट इन्डिजले घरेलु टिमसँग दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।