एजेन्सी । इंग्ल्यान्डले घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।
मंगलबार राति भएको अन्तिम तथा तेस्रो खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै इंग्ल्यान्डले तीन खेलको सिरिज ३-० ले जितेको हो ।
केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ९२ रनको लक्ष्य इंग्ल्यान्डले १७ ओभर ४ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
इंग्ल्यान्डको जितमा डाविड मालनले अविजित रहदै ९९ रनको अर्धशतकीय इनिङ्स खेले । जोस बट्लर ६७ रमा अविजित रहे ।
मालन र बट्लरले दोस्रो विकेटका लागि अविजित रहदै १ सय ६७ रनको कीर्तिमानी साझेदारी गरे । पुरुष टी-ट्वान्टी क्रिकेटमा दोस्रो विकेटका लागि भएको यो अहिलेसम्मकै सर्वाधिक ठुलो साझेदारी हो ।
यस्तै इंग्ल्यान्डका जासन रोय १६ रन बनाएर आउट भए ।
दक्षिण अफ्रिकाका एन्रीच नोर्ट्जेले एक विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले ।
त्यस्तै फाप डु प्लेसिसले अविजित रहदै ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।
टेम्बा भाभुनाले ३२ रन जोड्दा कप्तान क्विन्टन डी ककले १७ रन जोडे ।
इंग्ल्यान्डका बेन स्टोक्सले २ र क्रिस जोर्डनले १ विकेट लिए ।
दुई टिमबीच अब तीन खेलको एकदिवसीय सिरिज हुनेछ ।