काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका पौष ११ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले पीएम कप पुरुष क्रिकेट पौष ११ गतेबाट काठमाडौंमा सुरु गर्ने उल्लेख गर्दै जिल्ला छनोटको काम अघि बढाउन जिल्ला क्रिकेट संघलाई निर्देशन दिएको छ ।
क्यानले जिल्ला क्रिकेट संघलाई जिल्ला छनोट मंसिर २१ भित्र सकेर प्रादेशिक क्रिकेट संघ र केन्द्रमा जानकारी गराउन आग्रह गरेको छ ।
उसले जिल्ला टिम तयारीका लागि संघबाट २० हजार र एक दर्जन वल उपलब्ध गराउने बताएको छ । यस्तै, पूर्व कार्यक्रम अनुसार जिल्ला टिम छनोट भईसकेको भए सोही टिम वा नदिने निर्णय जिल्ला संघमा निहित हुने बताएको छ ।
उसले टिम छनोटको सम्पूर्ण जिम्मेवारी जिल्ला संघको हुने उललेख गर्दै क्याम्प तथा छनोट प्रतियोगिता सञ्चालन गर्दा जिल्ला प्रशासन तथा स्थानीय तहबाट स्विकृती लिन आग्रह गरेको छ ।
यस्तै क्यानले प्रधानमन्त्री कप प्रादेशिक प्रतियोगिता पौष ७ गतेभित्र सम्पन्न गर्नुपर्ने भएकाले सम्बन्धित प्रादेशिक क्रिकेट संघसंग समन्वयमा रहन आग्रह गरेको छ ।
यस्तै, जिल्ला टिम छनोटको बिल भपाई सहितको प्रतिवेदन संघमा पेश भएपछि अनुदान रकम निकासा गरिने क्यानको कार्यालय सचिव उदय प्रकाश शाहद्धारा पठाईएको पत्रमा उल्लेख छ ।
क्यानको बोर्ड बैठकले डिसेम्बरको अन्त्यमा प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने र त्यसको अनुमति लिने प्रक्रिया तत्काल अगाडी बढाउने निर्णय गरेको थियो ।