एजेन्सी । अष्ट्रेलियन क्रिकेटर क्रिस लिनले घरेलु क्रिकेटमा आक्रामक शतक प्रहार गरेका छन् ।
क्विन्सल्याण्ड प्रिमियर लिग टी-ट्वान्टी क्रिकेटमा लिनले ५५ बलमा १ सय ५४ रन बनाएका हुन् ।
अक्सेनहम पार्कमा भएको खेलमा लिनले आइतबार ५५ बलमा २० छक्का र ४ चौका प्रहार गरेका थिए । उनको अन्तिम १ सय १५ रन मात्र ३४ बलमा जोडेका थिए ।
पहिले ब्याटिङ गरेको तोमबुलले लिनको शतकमा २० ओभरमा २ सय ६६ रन बनाएको थियो । जवाफी लक्ष्य पछाएको सनसाइन कोस्टले ७ विकेट गुमाएर २ सय ४८ रन मात्र जोड्न सक्यो । उसका ब्लाके महरले १ सय ९ रनको पाली खेल्दा तोमबुलले १८ रनको जित हात पारेको थियो ।
खराब फर्मबाट गुज्रिरहेका लिन यो प्रदर्शनसँगै लयमा आएको विश्वास गरिएको छ । बिग बास नजिकिदै गर्दा लिनको प्रदर्शनले ब्रिसबेन हिट उत्साहित बनेको छ ।
लिन बिग बास इतिहासमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी हुन् । यस्तै उनी दुई पटक लिगको उत्कृष्ट खेलाडी समेत बनेका थिए ।