काठमाडौं । कोरोना भाईरसबाट संक्रमित नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् ।
कोरोना संक्रमणपछि घरमै सेल्फ आईसोलेसनमा रहेका सन्दीप आइतबार हेम्स अस्पताल भर्ना भएका हुन् ।
बिग बास क्रिकेट लिगका अष्ट्रेलिया जाने तयारीमा रहेका सन्दीप चाँडो निको हुनलाई अस्पताल भर्ना भएको उनको व्यवस्थापक रमन शिवाकोटीले जानकारी गराए ।
'शुक्रबार राष्ट्रिय टिमको क्याम्पमा जान कोरोना जांच गर्दा पोजेटिभ आएको थियो । त्यसयता घरैमा आइसोलेसन बसेका सन्दीप अहिले अस्पताल भर्ना भएका हुन्,' शिवकोटीले भने, 'अवस्था सामान्य छ । तर, एक्लै भएको र स्याहारसुसार कम भएको हुनाले कमजोरी महसुस भएछ । त्यसैले उनी अस्पताल भर्ना भएका हुन् ।'
राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणमा सहभागिता जनाउनका लागि शुक्रबार कोरोना परिक्षण (पीसीआर) गर्दा सन्दीपको रिपोर्ट पोजेटिभ आएको थियो ।
अस्पताल भर्ना भएका सन्दीप डाक्टरहरुको निगरानीमा रहेका छन् ।
सन्दीप बिग बास खेल्न डिसेम्बर १५ मा त्यसतर्फ जाने तयारीमा छन् । यसपटक सन्दीप होबार्ट हुरिकेन्सबाट बिग बास खेल्ने छन् ।
यस्तै सन्दीपका व्यवस्थापक तथा क्रिकेट एनालिस्ट शिवाकोटीलाई समेत कोरोना संक्रमण देखिएको छ । कोरोना देखिएपछि उनी घरैमा आइसोलेसनमा रहेका छन् ।
शिवाकोटीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।