एजेन्सी । अष्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नरले भारतविरुद्धको तेस्रो एकदिवसीय र टि-ट्वान्टी सिरिज गुमाउने भएका छन् ।
सिड्नीमा आइतबार भएको दोस्रो एकदिवसीयमा चोट बोकेका वार्नरले बाँकी खेल गुमाउने पक्का भएको हो ।
वार्नरलाई 'ग्रोइन स्ट्रेन' भएको र १८ दिनको आराम आवश्यक रहेको क्रिकेट अष्ट्रेलियाले जनाएको छ । वार्नर टेष्ट सिरिजमा भने उपलब्ध हुने बताइएको छ ।
वार्नरको स्थानमा डिआर्सि सर्टलाई टिममा अष्ट्रेलियाले राखेको छ ।
भारतविरुद्धको दोस्रो खेलमा फिल्डिङको क्रममा वार्नरलाई चोट लागेको थियो । वार्नर अष्ट्रेलियाको लागि मुख्य ओपनिङ ब्याट्सम्यान हुन् ।
अष्ट्रेलियाले एक खेल अगावै एकदिवसीय अन्तराष्ट्रिय सिरिज जितिसकेको छ । भारतलाई पहिलो खेलमा ६६ रनले पराजित गरेको अष्ट्रेलियाले दोस्रो खेलमा ५१ रनले हराएर सिरिज कब्जा गरेको हो ।
वार्नरले पहिलो खेलमा ८३ र दोस्रो खेलमा ६९ रन बनाएका थिए । तेस्रो एकदिवसीय खेल डिसेम्बर २ मा हुनेछ ।