एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले दोस्रो टी-ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिजलाई जितका लागि २ सय ३९ रनको फराकिलो लक्ष्य दिएको छ ।
माउन्ट माउनगानुईमा आइतबार टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनायो ।
न्युजिल्याण्डको उच्च स्कोरमा ग्लेन फिलिप्सले शतकीय इनिङ्स खेले । ५१ बलको सामना गरेका फिलिप्सले १ सय ८ रन बनाएर आउट भए ।
४६ बलमा शतक पुरा गरेका फिलिप्सले ८ छक्का र १० चौका प्रहार गरे । टी-ट्वान्टी अन्तराष्ट्रियमा उनको यो पहिलो शतक समेत हो ।
यस्तै डेभोन कोनवेले अविजित रहदै ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।
त्यस्तै मार्टिन गुप्तिलले ३४ रन जोड्दा टिम सेइफर्टले १८ रन जोडे ।
वेस्ट इन्डिजका केइरन पोलार्ड, फाबियन एलन र ओसुमाने थोमसले १/१ विकेट लिए ।
घरेलु टिम न्युजिल्याण्ड दोस्रो खेल जित्दै सिरिज कब्जा जमाउने लक्ष्यमा रहेको छ ।
वेस्ट इन्डिज भने दोस्रो खेल जित्दै सिरिज जोगाउन लक्ष्यमा हुनेछ ।
दुई टिमबीचको तीन खेलको सिरिजमा न्युजिल्याण्ड १-० ले अघि रहेको छ ।
पहिलो खेलमा न्युजिल्याण्डले डीएल पद्दतिको आधारमा ५ विकेटको जित निकालेको थियो ।