एजेन्सी । घरेलु टिम न्युजिल्याण्डले पहिलो टी-ट्वान्टी क्रिकेटमा वेस्ट इन्डिजलाई पराजित गरेको छ ।
अकल्याण्डमा शुक्रबार वर्षाले प्रभावित गरेको पहिलो खेलमा न्युजिल्याण्डले वेस्ट इन्डिजलाई डीएल पद्दतिको आधारमा ५ विकेटले पराजित गरेको हो ।
वेस्ट इन्डिजले दिएको १ सय ८१ रनको लक्ष्य न्युजिल्याण्डले १५ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा गर्यो ।
न्युजिल्याण्डका लागि जेम्स निशमले अविजित ४८ रन जोड्दा डेभोन कोन्वेले ४० रन बनाए ।
यस्तै मिचेल स्टानरले अविजित ३१ रन जोड्दा ग्लेन फिलिप्सले २२ रन जोडे ।
वेस्ट इन्डिजका ओशाने थोमसले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो ।
वर्षाको कारण १६ ओभरमा झारिएको खेलमा वेस्ट इन्डिजका लागि कप्तान केइरन पोलार्डले अविजित रहदै ७५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै आन्द्रे फ्लेट्चरले ३४ रन जोड्दा फाबियन एलनले ३० रन बनाए । ब्राण्डन किङ्ले १३ रन बनाए ।
न्युजिल्याण्डका लागि लक्की फेर्गुसनले ५ विकेट लिए । टिम साउथीले २ विकेट लिए ।
जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दुई टिमबीचको दोस्रो खेलमा आइतबार हुनेछ ।
टी-ट्वान्टी सिरिजपछि दुई टिमले २ खेलको टेस्ट सिरिज खेल्नेछ ।