काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ ।
किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबारबाट नेपाली टिमले प्रशिक्षण सुरु गरेको हो ।
नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण थालेको हो ।
नेपाली टिम ९ महिनापछि सामुहिक प्रशिक्षणमा फर्किएको हो ।
कोरोना भाईरसको महामारीको कारण गत चैतबाट नेपाली टिमले सामुहिक प्रशिक्षण गरेको छैन ।
लामो समय खेलाडी मैदान बाहिर रहेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सावधानी अपनाएर प्रशिक्षण गराउन लागेको हो ।
क्यानले बन्द प्रशिक्षणका लागि २७ खेलाडीलाई बोलाएको छ ।
तर, कोरोना संक्रमणको कारण ४ खेलाडी प्रशिक्षणमा सहभागी भएनन् ।
कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको छ ।
मंगलबार गरिएको परिक्षणमा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
बसन्त रेग्मीलाई यस अघि नै कोरोना संक्रमण देखिएको थियो ।
तर, क्यानले प्रशिक्षणका लागि पाँच खेलाडी थप गरेको छ । रित गौतम, अनिल शाह, कुशल भुर्तेल, बिक्रम शोब र लोकेश बमलाई बन्द प्रशिक्षणको लागि क्यानले टिममा बोलाएको छ ।