एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (आइतबार) हुने दोस्रो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
अबुधाबीमा मुम्बई आफ्नो ११ औं र राजस्थान १२ औं खेलका लागि मैदान उत्रने छन् । मुम्बई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
शेख जायद क्रिकेट मैदानमा मुम्बई आठौं जितको खोजीमा हुनेछ । अघिल्ला १० खेलमा ७ जितसहित १४ अंक जोडेको मुम्बई शीर्ष स्थानमा रहेको छ ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई राजस्थानलाई हराएर शीर्ष यथावत राख्न चाहन्छ । अघिल्ला खेलमा टिम बाहिर रहेका रोहित राजस्थानविरुद्ध मैदान फर्कने बताईएको छ ।
यता, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थान पनि जित निकाल्ने योजनामा हुनेछ । किनकी प्ले अफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब राजस्थानलाई रहेको छ ।
राजस्थान ११ खेलमा ८ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ । राजस्थानका लागि यस खेल गर या मरको स्थितिमा हुनेछ ।
राजस्थान मुम्बईसँग अघिल्लो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । सिजनको पहिलो भेटमा राजस्थानलाई मुम्बईले ५७ रनले हराएको थियो ।
राजस्थानले मुम्बईविरुद्ध कप्तान स्मिथसहित बेन स्टोक्स, डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्ने छन् ।
मुम्बईसँग कप्तान रोहितसँगै क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडीको साथ रहने छ ।