एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने दोस्रो खेलमा किङ्स इलाभेन पन्जाब र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा हुँदैछ ।
दुबईमा पन्जाब र हैदराबाद आफ्नो ११ औं खेलका लागि मैदान उत्रन लागेका हुन् । पन्जाब र हैदराबादबीच खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा पन्जाब पाँचौ जितको खोजीमा हुनेछ । अघिल्ला १० खेलमा ४ जितसहित ८ अंक जोडेर पन्जाब छैटौं स्थानमा रहेको छ ।
यस्तै पन्जाब हैदराबादसँग सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा पन्जाब ६९ रनले पराजित भएको थियो ।
तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबलाई हैदराबादविरुद्ध जित निकाल्न कठिन भने हुनेछ ।
डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद पनि पाँचौं जितको खोजीमा रहेको छ । हैदराबाद १० खेलमा ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
प्ले अफको सम्भावना जीवितै राख्न दुबै टोलीलाई जितको विकल्प छैन ।
पन्जाबले हैदराबादविरुद्ध राहुलसँगै मायांक अग्रवाल, निकोलस पुरन, क्रिस गेल, ग्लेन म्याक्स्वेल, क्रिस जोर्डन, मोहम्मद शामी, सेल्डोन कोट्रेल जस्ता खेलाडी मैदान उतार्ने छन् ।
हैदराबादसँग कप्तान वार्नरसँगै जोनी बेयर्स्टो, मनिस पाण्डे, केन विलियाम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडीको साथ रहनेछ ।