एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
सारजाहमा शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।
सारजाह क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय १५ रनको लक्ष्य मुम्बईले १२ ओभर २ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो ।
मुम्बईको जितमा इशान किशनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै क्विन्टन डी कक ४६ रनमा अविजित रहे ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।
चेन्नईका लागि साम करणले सर्वाधिक ५२ रनको अर्धशतकीय इनिङ्स खेले । इमरान ताहिर १३ रनमा अविजित रहे ।
यस्तै कप्तान महेन्द्र सिंह धोनीले १६ रन जोड्दा सार्दुल ठाकुरले ११ रन बनाए ।
खराब ब्याटिङ गरेको चेन्नईले मात्र २१ रन जोड्दा महत्वपूर्ण ५ विकेट गुमाएको थियो । साम करणले सम्हालिएर खेल्दै चेन्नईको इनिङ्स उकासेका थिए ।
करण र ताहिरले नवौं विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । जुन साझेदारी आईपीएल इतिहासमा नवौं विकेटका लागि भएको उच्च साझेदारी हो ।
दिपक चाहर, रुतुराज गैक्वाड र एन जगाडेसानले खाता खोल्न सकेनन् । रविन्द्र जडेजा ७ रनमा आउट हुँदा अम्बाती रायडु २ र फाप डु प्लेसिस १ रनमा आउट भए ।
चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्टले ४ विकेट लिए । राहुल चाहर र जस्प्रित बुम्राहले २/२ विकेट लिए । कल्टर निलको नाममा १ विकेट रह्यो ।
जितसँगै मुम्बईले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ ।
यस्तै मुम्बईले चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो ।
चेन्नईले भने ११ खेलमा ६ अंक जोडेको छ । पुछारमा रहेको चेन्नईको यो आठौं हार हो ।
यस्तै आईपीएल इतिहासमा १० विकेटले पराजित हुने चेन्नई पहिलो टिम समेत बनेको छ ।