एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सारजाहमा मुम्बईले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । मुम्बईले बलिङ रोजेपछि चेन्नईले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
तर, चेन्नईविरुद्धको खेलमा मुम्बईका कप्तान रोहित शर्मा प्लेइङ सेट बाहिर रहेका छन् । रोहितको स्थानमा सौरभ तिवारी टिममा रहेका छन् ।
खुट्टाको हामस्ट्रिङको कारण कप्तान रोहित खेलेका छैनन् । रोहित प्लेइङ सेटमा नभएपछि मुम्बईको कप्तानी केइरन पोलार्डले गरेका छन् ।
चेन्नईले तीन खेलाडी परिवर्तन गरेको छ । इमरान ताहिर, रुतुराज गैक्वाड र एन जगाडेसान प्लेइङमा परेका छन् ।
आज मुम्बई सातौं जितको खोजीमा रहेको छ । अघिल्ला ९ खेलमा ६ जितसहित १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा रहेको छ ।
चेन्नईलाई यस खेल निकै महत्वपूर्ण रहेको छ । पुछारमा रहेको चेन्नईलाई प्ले अफको सम्भावना कायम राख्न समेत जित्नै पर्ने दबाब रहेको छ ।
चेन्नईलाई यस खेल गर या मरको स्थितिमा हुनेछ । चौंथो जितको खोजीमा रहेको चेन्नई १० खेलमा ६ अंक जोडेको छ ।