एजेन्सी । इंग्ल्यान्डका ओपनर ब्याट्सम्यान जासन रोयले पर्थ स्कोचर्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) खेल्ने भएका छन् ।
पर्थले शुक्रबार जासनलाई नयाँ सिजनको बीबीएलका लागि अनुबन्धित गरिएको जनाएको छ ।
३० वर्षीय जासनले पहिलो पटक पर्थबाट खेल्न लागेका हुन् ।
यस अघि उनले सिड्नी थन्डर र सिड्नी सिक्सर्सबाट बीबीएल खेलिसकेका छन् ।
जासनले पहिलो पटक पर्थबाट बीबीएल खेल्नका लागि आफु उत्साहित भएको बताएका छन् ।
'पर्थ निकै बलियो टिम हो । यस क्लबमा सामेल हुन उत्साहित छु,' जासनले भनेका छन्, 'मैले सुनेको छु क्लबको वातावरण अत्यन्त राम्रो छ । यो यस्तो ठाउ हो जहाँ राम्रो गर्न सबै जनाले एक अर्कालाई सहयोग गर्छ ।'
जासनले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट भने गुमाएका थिए ।
दिल्ली क्यापिटल्समा रहेका जासनले चोटका कारण आईपीएल गुमाएका हुन् । त्यसअघि उनले घरेलु मैदानमा पाकिस्तानसँगको टी-ट्वान्टी सिरिज गुमाएका थिए ।
बीबीएलका लागि भने उनी पूर्ण रुपमा ठिक हुने छन् । नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर ३ बाट सुरु हुँदैछ ।