एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) साविक विजेता मुम्बई इन्डियन्स र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सारजाहमा मुम्बई आफ्नो दशौँ र चेन्नई ११ औं खेलका लागि मैदान उत्रने छन् । मुम्बई र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
सारजाह क्रिकेट मैदानमा मुम्बई सातौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ६ जितसहित १२ अंक जोडेर मुम्बई तेस्रो स्थानमा रहेको छ ।
रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई चेन्नईलाई हराएर शीर्ष दुई टिमसँग अंक बराबरी गर्न चाहन्छ ।
मुम्बई चेन्नईसँग सिजनको पहिलो खेलमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । सिजनको पहिलो भेटमा चेन्नईले मुम्बईलाई ५ विकेटले हराएको थियो ।
तर, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नईविरुद्ध जित निकाल्न मुम्बईलाई कठिन भने हुनेछ ।
चेन्नईलाई यस खेल निकै महत्वपूर्ण रहेको छ । पुछारमा रहेको चेन्नईलाई प्ले अफको सम्भावना कायम राख्न समेत जित्नै पर्ने दबाब रहेको छ ।
चेन्नईलाई यस खेल गर या मरको स्थितिमा हुनेछ । चौंथो जितको खोजीमा रहेको चेन्नई १० खेलमा ६ अंक जोडेको छ ।
मुम्बईविरुद्धको यस खेल चेन्नईका लागि २ सय टी-ट्वान्टी खेल हुनेछ । चेन्नईले १ सय ९९ खेलमा १ सय १८ जित निकालेको छ ।
चेन्नईले मुम्बईविरुद्ध धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीलाई मैदान उतार्ने छ ।
मुम्बईसँग कप्तान रोहितसँगै क्विन्टन डी कक, केइरन पोलार्ड, हार्दिक पाण्डय, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह लगायतका खेलाडीको साथ रहने छ ।