एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (सोमबार) साविक उपविजेता चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
अबुधाबीमा चेन्नई र राजस्थान आफ्नो दशौँ खेलका लागि मैदान उत्रने छन् । चेन्नई र राजस्थानबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
शेख जायद क्रिकेट स्टेडियममा चेन्नई चौंथो जितको खोजीमा हुनेछ ।
महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई ९ खेलमा ६ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
राजस्थानलाई हराएर चेन्नई अंक तालिका सुधार गर्न चाहन्छ ।
यस्तै चेन्नई सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । सिजनको पहिलो भेटमा राजस्थानसँग चेन्नई १६ रनले पराजित भएको थियो ।
तर, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई हराउँन चेन्नईलाई कठिन हुनेछ ।
पुछारमा रहेको राजस्थान पनि चेन्नईलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
राजस्थानले ९ खेलमा ६ अंक जोडेको छ । राजस्थान पनि चौंथो जित निकाल्ने योजनामा हुनेछ ।
राजस्थानले चेन्नईविरुद्ध कप्तान स्मिथसहित बेन स्टोक्स, डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्ने छन् ।
चेन्नईसँग कप्तान धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीको साथ रहने छ ।