एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सारजाहमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र साविक उपविजेता चेन्नई आफ्नो नवौं खेलका लागि मैदान उत्रने छन् । दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
सारजाह क्रिकेट मैदानमा दिल्ली सातौं जितको खोजीमा हुनेछ । अघिल्ला ८ खेलमा ६ जितसहित १२ अंक जोडेर दिल्ली दोस्रो स्थानमा रहेको छ ।
श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली चेन्नईलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
दिल्लीले यस सिजन उत्कृष्ट प्रदर्शन समेत गरिरहेको छ । तर, यस सिजन सन्दीपले दिल्लीबाट खेल्ने मौका पाएका छैनन् । दिल्लीले सन्दीपलाई अघिल्ला ८ खेलमा बेञ्चमा राखेको थियो ।
बलियो टिम चेन्नईविरुद्ध समेत सन्दीपले मौका पाउने सम्भावना निकै कम रहेको छ ।
यता, महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने चेन्नई चौंथो जितको खोजीमा हुनेछ । चेन्नई ८ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
दिल्लीलाई हराएर चेन्नई अंक तालिका सुधार गर्न चाहन्छ ।
यस्तै चेन्नई यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ । यस अघिको भेटमा दिल्लीले चेन्नईलाई ४४ रनले हराएको थियो ।
चेन्नईले दिल्लीविरुद्ध कप्तान धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीलाई मैदान उतार्ने छन् ।
दिल्लीसँग पृथ्वी श, शिखर धवन, श्रेयस आयर, मार्कुस स्टोनिस, अक्षर पटेल, कागिसो राबडा जस्ता खेलाडीको साथ रहने छ ।