कठमाडौं । नेपाली राष्ट्रिय टिमका सदस्य पारस खड्काले क्रिकेटको तीन फर्म्याटमा आफुलाई मन पर्ने तीन ब्याट्सम्यानको नाम खुलासा गरेका छन् ।
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका पारसले रुस्लान क्रिकेटको लाइभमा आफ्ना फेबरेट ब्याट्सम्यानबारे बताएका हुन् ।
पारसले आफुलाई मन पर्ने ब्याट्सम्यान मध्ये टेस्टमा अष्ट्रेलियाका स्टिभ स्मिथ, एकदिवसीयमा भारतका कप्तान विराट कोहली र टी-ट्वान्टीमा दक्षिण अफ्रिकाका एबी डी भिलियर्स रहेको बताएका हुन् ।
'म जहिल्यै अष्ट्रेलिया क्रिकेटको समर्थक रहें । टेस्ट क्रिकेटमा स्टिभ स्मिथले ब्याटिङ गरेको सारै राम्रो लाग्छ । एकदिवसीयमा विराट अनि टी-ट्वान्टीमा डी भिलियर्स,' पारसले लाइभमा भने, 'यस्तै धेरै खेलाडी छन् । फास्ट बलरमा मिचेल स्टार्क, प्याट कमिन्सले आफ्नो राष्ट्रको लागि राम्रो बलिङ गर्दै आएका छन् ।'
पारसले आधुनिक क्रिकेटमा आफुलाई मन पर्ने खेलाडी भने इंग्ल्यान्डका बेन स्टोक्स रहेको बताए ।
'धेरै मन पर्ने खेलाडी छन् । तपाईले अहिले सोध्नु हुन्छ भने बेन स्टोक्स धेरै मध्येका एक हुन् । तर, मेरो कहिल्यै व्यक्तिगत खेलाडी थिएनन्,' पारसले थपे ।
लाइभमा पारसले नेपाली क्रिकेट चाडै मैदान फर्कनेमा विश्वस्त रहेको समेत बताए ।
कोरोनाको महामारीको कारण झन्डै ७ महिनाबाट नेपाली क्रिकेट ठप्प रहेको छ ।