एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबईमा बैंगलोर र राजस्थान नवौं खेलका लागि मैदान उत्रन लागेका हुन् । बैंगलोर र राजस्थानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोर छैटौं जितको खोजीमा हुनेछन् । अघिल्ला ८ खेलमा बैंगलोरले ५ जितसहित १० अंक जोडेको छ ।
विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर तेस्रो स्थानमा रहेको छ । राजस्थानलाई हराएर बैंगलोर शीर्ष दुई भित्र उक्लन चाहन्छ ।
तर, स्टिभ स्मिथको कप्तानीमा मैदान उत्रने राजस्थानलाई हराउन बैंगलोरलाई सहज हुने छैन ।
राजस्थान पनि बैंगलोरलाई हराएर चौंथो जित निकाल्न चाहन्छ । ८ खेलमा ६ अंक जोडेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
बैंगलोरलाई हराएर राजस्थान अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
यस्तै राजस्थान यसै सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ ।
यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ८ विकेटले हराएको थियो ।
बैंगलोरविरुद्ध राजस्थानले कप्तान स्मिथसहित बेन स्टोक्स, डेभिड मिल्नर, जोफ्रा आर्चर, रोबिन उथप्पा, सन्जु सामसन, श्रेयस गोपाल लगायतका खेलाडी मैदान उतार्ने छन् ।
बैंगलोरसँग कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनी जस्ता खेलाडीको साथ रहने छ ।