एजेन्सी । साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।
शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको १ सय ४९ रनको लक्ष्य मुम्बईले १६ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
मुम्बईको जितमा क्विनटन डी ककले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४४ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै कप्तान रोहित शर्माले ३५ रन जोड्दा सूर्यकुमार यादबले १० रन बनाए । हार्दिक पाण्डय २१ रनमा अविजित रहे ।
कोलकत्ताका भरुण चक्रवर्ती र शिबम माभीले १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो ।
कोलकत्ताको लागि पाट कुमिन्सले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान इयान मोर्गन ३९ रनमा अविजित रहे ।
यस्तै सुबमन गिलले २१ रन जोड्दा आन्द्रे रसेलले १२ रन जोडे ।
मुम्बईका राहुल चाहरले २ विकेट लिए । यस्तै ट्रेन्ट बोल्ट, कल्टर नेइल र जस्प्रित बुम्राहले १/१ विकेट लिए ।
कोलकत्तालाई हराएसँगै मुम्बईले लिगमा छैटौं जित निकालेको छ । कोलकत्ताले ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ ।
कोलकत्ताको यो चौंथो हार हो । ८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।
यस सिजन कोलकत्तामाथि मुम्बईको यो लगातार दोस्रो जित हो । सिजनको पहिलो भेटमा मुम्बईले कोलकत्तालाई ४९ रनले हराएको थियो ।