एजेन्सी । दिल्ली क्यापिटल्सका तीव्र गतिका बलर एनरिच नोर्टजेले इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै सर्वाधिक तीव्र गतिको बलिङ गरेका छन् ।
युएईमा जारी आईपीएल अन्तर्गत बिहीबार राति राजस्थान रोयल्सविरुद्धको खेलमा नोर्टजेले सर्वाधिक तीव्र गतिको बलिङ गरेका हुन् ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा नोर्टजेले राजस्थानविरुद्ध प्रतिघण्टा १५६.२२ किलोमिटरको गतिमा बलिङ गर्दै कीर्तिमान बनाएका हुन् ।
२६ वर्षीय नोर्टजेले तेस्रो ओभरको पाँचौ बलमा राजस्थानका जोस बटलरलाई उक्त बल फाल्दै कीर्तिमान बनाएका हुन् । तर, त्यस बलमा बटलरले चौका प्रहार गरेका थिए ।
लगत्तै अर्को बलमा भने नोर्टजेले बटलरलाई बोल्ड गरेका थिए । त्यसबेला भने नोर्टजेले प्रतिघण्टा १५५.२१ किलोमिटरको गतिमा बलिङ गरेका थिए ।
नोर्टजेले दक्षिण अफ्रिकाकै डेल स्टेनको नाममा रहेको कीर्तिमान भङ्ग गरेका हुन् ।
स्टेनले सन् २०१२ मा प्रतिघण्टा १५४.४० किलोमिटरको गतिमा बलिङ गरेका थिए ।
नोर्टजेले कीर्तिमान बनाएको खेलमा दिल्लीले राजस्थानलाई १३ रनले पराजित गरेको थियो ।
जितसँगै दिल्ली ८ खेक्मा १२ अंक जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो ।