एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) सनराइजर्स हैदराबाद र साविक उपविजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबईमा हैदराबाद र चेन्नई आफ्नो आठौं खेलका लागि मैदान उत्रने छन् । हैदराबाद र चेन्नईबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा डेभिड वार्नरको कप्तानीमा रहेको हैदराबाद चौंथो जितको खोजीमा हुनेछ ।
हैदराबाद ७ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । चेन्नईलाई हराएर हैदराबाद अंक तालिका सुधार गर्न चाहन्छ ।
तर, महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नईलाई हराउँन हैदराबादलाई सहज भने हुने छैन ।
हैदराबादलाई हराएर चेन्नई तेस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । चेन्नई ७ खेलमा ४ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
यस्तै चेन्नई पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिने योजनामा हुनेछ ।
यसै सिजनको पहिलो भेटमा चेन्नईलाई हैदराबादले ७ रनले पराजित गरेको थियो ।
हैदराबाद भने चेन्नईलाई लगातार दोस्रो भेटमा पराजित गर्न चाहन्छ ।
चेन्नईले हैदराबादविरुद्ध कप्तान धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीलाई मैदान उतार्ने छन् ।
हैदराबादसँग वार्नरसँगै जोनी बेयर्स्टो, मनिस पाण्डे, केन विलियाम्सन, विजय शंकर, राशिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा लगायतका खेलाडी रहने छन् ।