काठमाडौं । गण्डकी प्रदेश क्रिकेट संघले आफ्नो खेलाडीको कोरोना बिमा गर्ने भएको छ ।
कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै संघको कार्य सम्पादन समितिको बैठकले १८ खेलाडीको कोरोना बिमा गर्ने निर्णय गरेको हो ।
प्रदेशले गत संस्करणको मनमोहन मेमोरियल कप प्रतियोगितामा सहभागिता जनाएका १४ खेलाडी सहित थप ४ वैकल्पिक खेलाडीको बिमा गर्ने भएको हो ।
अध्यक्ष देवेन्द्र प्रजुको संयोजकत्वमा बसेको बैठकमा सचिव सुमन राज कार्की, संजय कान्त सिग्देल, दिपानु पोख्रेल, अर्जुन थापा सहित ५ जनाको सहभागिता रहेको थियो । कार्य सम्पादन समितिमा ७ जना रहेका छन् ।
यस्तै बैठकले तत्काललाई कार्यलाई व्यवस्थापन गर्दै प्रदेशको काम अघि बढाउने निर्णय समेत गरेको गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमन राज कार्कीले जानकारी गराए ।
'गण्डकी प्रदेश क्रिकेट संघको कार्य सम्पादन समितिको बैठकले १८ खेलाडीको कोरोना बिमा गराउने निर्णय गरेको छ,' कार्कीले खेलपाटीसंग भने, 'बैठकमा प्रदेशको काम तत्काल अघि बढाउने निर्णय समेत गरेका छौं ।'
गण्डकी प्रदेश सरकारले पशुपतिघाटमा निर्माण गर्न लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि प्रदेश क्रिकेटले निर्माण सम्पन्न नहुन्जेलसम्म सहयोग गर्ने भएको छ ।
यस्तै आगामी असोज २७ र २८ गते नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभाको लागि प्रदेशले अध्यक्ष प्रजु र सचिव कार्कीलाई प्रतिनिधित्व पठाउनु समेत निर्णय गरेको छ ।