काठमाडौं । सुदूर पश्चिम प्रादेशिक क्रिकेट संघले आकस्मिक सुरक्षा कोष स्थापना गर्ने भएको छ ।
सुदूर पश्चिम प्रादेशिक क्रिकेट संघको शनिबार बसेको बोर्ड बैठकले आकस्मिक सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको छ ।
खेलाडी र पदाधिकारीलाई आईपर्ने आकस्मिक दुर्घटना र कडा खालको रोगमा सहयोग पुर्याउने उदेश्यले प्रादेशिक क्रिकेट संघले सुरक्षा कोष स्थापना गर्ने निर्णय गरेको हो ।
कोष स्थापनाको लागि संघले आफ्नो मातहतमा रहेको ८ वटै जिल्ला क्रिकेट संघबाट ५ हजार तथा प्रदेशबाट १५ हजार जम्मा गर्ने निर्णय समेत गरेको छ ।
बैठकले नेपाल क्रिकेट संघ (क्यान) बाट जिल्ला तथा प्रदेशको लागि आएको अनुदान कार्यसमितिबाट स्वीकृत गराएर खर्च गर्न अनुमति दिएको छ ।
क्यानले यसअघि प्रत्येक जिल्लालाई ५० हजार र प्रदेशलाई १ लाखका दरले रकम पठाएको थियो । क्यानले ग्रासरुट क्रिकेट बिकास गर्न सो रकम जिल्ला र प्रदेशलाई निकासा गरेको थियो ।