एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) हुने दोस्रो खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबईमा चेन्नई आफ्नो सातौं र बैंगलोर छैटौं खेलका लागि मैदान उत्रने छन् । चेन्नई र बैंगलोरबीचको खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नई तेस्रो खोजीमा हुनेछन् । अघिल्ला ६ खेलमा चेन्नईले २ जित र ४ हार व्यहोरेको थियो ।
महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई ४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
तर, चेन्नई बैंगलोरलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।
विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरलाई हराउन चेन्नईलाई सहज भने छैन ।
बैंगलोर पनि चेन्नईलाई हराएर शीर्ष तीनमा उक्लने लक्ष्यमा हुनेछ ।
बैंगलोरले अघिल्ला ५ खेलमा ३ जित र २ हार व्यहोरेको थियो । ६ अंक जोडेको बैंगलोर पाँचौं स्थानमा रहेको छ ।
बैंगलोरले चेन्नईविरुद्ध कप्तान कोहलीसँगै आरोन फिन्च, देभदत्त पाडिक्ल, एबी डी भिलियर्स, शिबम डुबे, वासिंगटन सुन्दर, युजभेन्द्र चहल, नाभदिप सैनी जस्ता खेलाडी मैदान उतार्ने छन् ।
चेन्नईसँग भने धोनीसँगै शेन वाट्सन, फाप डु प्लेसिस, साम करण, केदार जाधब, पियुस चावला, लुंगी एनजिडी, रबिन्द्र जडेजा जस्ता खेलाडीको साथ रहने छ ।