एजेन्सी । सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आईपीएल) को ५ खेलमा २ जितसहित पाँचौं स्थानमा रहेको छ ।
हैदराबाद शीर्ष स्थानको मुम्बई इण्डियन्स भन्दा ४ अंकले पछि रहेको छ ।
हैदराबादका फास्ट बलर भुवनेश्वर कुमार चोटका कारण प्रतियोगिताबाट बाहिरीएपछि कप्तान डेभिड वार्नरलाई समस्या थपिएको छ ।
हैदराबादका लागि भुवनेश्वर विकेट लिने खेलाडी मात्र नभएर 'डेथ बलिङ' गर्ने बलर हुन् ।
भुवनेश्वर बाहिरीसँगै अब कम अनुभवी फास्ट बलर सन्दीप शर्मा, खलिल अहमद, सिदार्थ कौल र नटराजनको काँधमा आइपर्यो ।
नटराजन बाहेक सन्दिप र सिदार्थले रन चुहावट कम गर्न सकेका छैनन् ।
२९ वर्षे नटराजन यस्ता खेलाडी हुन् जसले बलिङबाट आफ्नो भाग्य परिवर्तन गरे । नटराजनको योर्कर फाल्ने क्षमताले सबैलाई चकित र प्रभावित पारेको छ ।
भारतका पूर्व ब्याटिङ प्रशिक्षक संजय बांगरले समेत नटराजनको खेलबाट आफु प्रभावित भएको बताएका छन् ।
संजयका अनुसार नटराजन हैदराबादको लागि अमुल्य रहेका छन् । उनले बलिङमा टिमलाई ठुलो राहत दिएका छन्, अझ डेथ ओभरमा ।
'योर्कर बल यो फर्म्याटमा निकै कठिन बल हो, अझ बल भिझेपछी । तर नटराजनले अघिल्लो खेलहरुमा उत्कृष्ट बलिङ गर्दै हैदराबादको डेथ ओभरको समस्या सामाधान गरेका छन्,' संजयले भने, 'नटराजनको प्रदर्शनबाट म निकै प्रभावित भएको छु । उनी राम्रो लयमा देखिएका छन् । र, उनी नै यो आईपीएलमा मेरो पहिलो रोजाइका खेलाडी हुनेछन् ।'
हैदराबादको लागि बाँया हाते बलर नटराजनले ५ खेलमा ५ विकेट लिएका छन् । उनले बिराट कोहली, मार्कस स्टोइनिस जस्ता स्टार खेलाडीलाई आउट गरेका छन् ।
नटराजनको डेथ ओभर बलिङ र योर्कर धेरै बलको कारण उनी टिमको खास सदस्य बनिसकेका छन् । नटराजनले समर्थकलाई मात्र नभएर विरेन्द्र सेहवाग, ब्रेट लि जस्ता हस्तीहरुलाई समेत प्रभावित पारेका छन् ।