एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार कलकत्ता नाइट राइडर्सले चेन्नई सुपर किङ्ग्सलाई १० रनले पराजित गर्यो ।
खेलमा कलकत्ताका ब्याट्सम्यान राहुल त्रिपाठीले उत्कृष्ट प्रदर्शन गरे । प्लेयर अफ दि म्याच बनेका त्रिपाठीले टिमले बनाएको झन्डै आधा रन एक्लैले जोडेका थिए ।
५१ बलको सामना गरेका उनले ३ छक्का र ८ चौका प्रहार गर्दै सर्वाधिक ८१ रन बनाए । ओपनिङ ब्याट्सम्यान त्रिपाठीको उत्कृष्ट इनिङ्सकै कारण कोलकत्ताको जितको आधार तय भएको थियो ।
चेन्नईविरुद्धको खेलेपछि त्रिपाठीले टिमका मालिक शाहरुख खानको सामुन्ने खेल्न पाउँदा आफ्नो सपना पुरा भएको बताए ।
'मेरो सपना पुरा भए जस्तै भयो । शीर्ष स्थानको ब्याटिङ र फिनिसरका लागि तयार थिएँ,' खेलपछी त्रिपाठीले भने, 'लाग्यो बल राम्रैसँग ब्याटमा आयो । त्यसैले लाग्यो, स्कोरबोर्डको गती बढाउनु पर्छ र यस्तो आक्रमण भयो ।'
बलिउड अभिनेता खान कोलकत्ताका मालिक मध्ये एक हुन् । खान कलकत्ताको खेल हेर्न सधै मैदान पुग्ने गर्छन् ।
'सुभम गिलले समेत राम्रै प्रहार गर्यो । आईपीएल एक राम्रो सफर रहेको छ । यो यात्राको भरपुर मजा लिंदै छु । कलकत्ता आउनु अझै खास भयो । शाहरुख सरको अगाडी प्रदर्शन गर्न पाउनु धेरै विशेष छ । यो एक सपना सत्य भएको हो,' उनले थपे ।
२९ वर्षे त्रिपाठीले पहिलो ३ खेलमा भने बेन्चमै बिताएका थिए । तर, दिल्ली क्यापिटल्सविरुद्ध आठौँ नम्बरमा ब्याटिङ गरेका उनले ३० रन बनाएका थिए ।
चेन्नईविरुद्ध भने उनले सुरुवातमै ब्याटिङ गर्दै आफ्नो टोलीलाई जित दिलाउन सफल भए ।