काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले टुहुरा तथा असहाय बालबालिकालाई सहयोग गरेको छ ।
शीर्ष डिभिजनको सहिद स्मारक ए डिभिजन लिग टिम पुलिसले स्नेहा आश्रमलाई खाद्यान्न सहयोग गरेको हो ।
नेपाल पुलिस क्लबका पूर्व खेलाडी तथा प्रशिक्षक अनन्त राज थापाको नेतृत्वमा बुधबार मुलपानीमा रहेको आश्रममा पुगेर क्लबले खाद्यान्न सहयोग गरेको हो ।
पुलिस टिमले करिब १० हजार बराबरको खाद्यान्न आश्रमलाई सहयोग गरेको हो ।
स्नेहा आश्रम हास्य कलाकार तथा फिल्मकर्मी शंकर शुलेमान (ईकु) को टिमले संचालनमा ल्याएको हो ।
असहाय बालबालिकालाई सहयोग गरेपछि बोल्दै अनन्तले उनीहरुलाई सहयोग गर्न पाउदा आफुहरु खुसी भएको बताए ।
‘हामी फुटबलमा लागेको मान्छे । शुलेमान जी कलाकारीतामा लागेको मान्छे । उहाँद्वारा सञ्चालित भएको आश्रममा सहयोग गर्न पाउँदा खुसी छौं,’ गत सिजन पुलिसलाई शीर्ष ६ मा पुर्याएका प्रशिक्षक अनन्तले भने ।
प्रशिक्षक अनन्तसँगै गोलरक्षक प्रशिक्षक संजिब जोशी, कप्तान तथा मिडफिल्डर हेम तामाङ, स्ट्राइकर निर कुमार राई, डिफेन्डर मान बहादुर परियार र गोलरक्षक शत्रुधन चौधरी सहयोगका लागि आश्रम पुगेका थिए ।
आश्रमका संस्थापक सदस्य शुलेमानले पुलिस टिमबाट सहयोग पाउँदा खुसी रहेको प्रतिक्रिया जनाए ।
सन् २००० यता कलाकारिता क्षेत्रमा रहेका ईकुले ७२ सालको भुकम्पपछि आश्रम संचालनमा ल्याएका हुन् । उनले भुकम्पमा परेर परिवार गुमाएका १४ बालबालिकालाई आश्रममा आश्रय दिदै आएका छन् ।