काठमाडौं । ओलम्पियन पौडीवाच नयना शाक्य कोरोना भाईरसको संक्रमणबाट मुक्त भएकी छिन् ।
नयनासँगै उनका श्रीमान तथा पूर्व बास्केटबल खेलाडी विकास शाही पनि कोरोना मुक्त भएका छन् ।
आठौं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण विजेता नयनाले सामाजिक संजाल फेसबुकबाट आफुहरुले कोरोनालाई जित्न सफल भएको बताएकी छिन् ।
कोरोना संक्रमण देखिएको १६ दिनपछि उनीहरु कोरोना मुक्त भएका हुन् । कोरोना देखिएपछि उनीहरु आईसोलेसनमा बसेका थिए ।
आफ्नो घरमा रहेको एक स्टोरका सञ्चालकलाई कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसीङमा उनीहरुलाई कोरोना देखिएको थियो ।
नयनाले सन् १९९९ मा नेपालमै भएको सागमा स्वर्ण जितेकी थिइन् । यस्तै नयनाले २००४ को एथेन्स ओलम्पिकमा सहभागिता जनाएकी थिइन् । उनी १३ औं सागमा पौडी प्रशिक्षक रहेकी थिइन् ।
यस्तै विकास १३ औं सागमा नेपालको महिला टिमले रजत पदक जित्दा प्रशिक्षक रहेका थिए ।