'ग्वार्डीओला म्यान्चेष्टर सिटीमै प्रतिबद्ध !'

एजेन्सी । एजेन्ट जोसेप मारिया ओरोबबिटले म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीओला इतिहाद क्लबमै बस्ने दाबी गरेका छन् ।
बार्सिलोनाले नयाँ प्रशिक्षकको खोजी गरिरहेको समय ग्वार्डीओलाका एजेन्ट मारियाले सिटीका प्रशिक्षक सतप्रतिशत इतिहाद क्लबमै बस्ने बताएका हुन् ।
ग्वार्डीओलाले एक दिन आफु बार्सिलोनामा फर्कने बताएका थिए । उनले बार्सिलोनामा सन् २००८ देखि २०१२ सम्म सफल सिजन बिताएका थिए ।
एजेन्ट मारियाले ग्वार्डीओला तत्काल बार्सिलोना फर्कने सम्भावना नभएको बताएका छन् ।
बार्सिलोना नयाँ प्रशिक्षकको खोजीमा छ । उसले मुख्य प्रशिक्षक क्विक सेटिनलाई बर्खास्त गरेको छ । सोमबार राति च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ ले पराजित भएसंगै बार्सिलोनाले प्रशिक्षक बर्खास्त गरेको हो ।
६१ बर्षका प्रशिक्षक ७ महिनामै बर्खास्तमा परेका हुन् । उनी ला लिगा उपाधिबाट बिमुख हुनुका साथै युरोपियन फुटबलमा समेत असफल बने ।

ग्वार्डीओला आफैपनि क्वार्टरफाईनलमा लियोनसंग ३–१ ले पराजित भएसंगै निराश छन् । तर उनका प्रतिनिधिले ग्वार्डीओलाले क्लब नछाड्ने बताएका हुन् ।
उनले भनेका छन्, ‘हो, पेप सतप्रतिशत सिटीमै बस्नेछन् ।’
उनले तत्काल ग्वार्डीओला बार्सिलोना फर्कने सम्भावना नभएको समेत बताए ।
ग्वार्डीओलाको सिटीसंगको सम्झौता सन् २०२१ सम्म रहेको छ । क्लबले सम्झौता नविकरणकालागि ग्वार्डीओलासंग प्रस्ताव गरिरहेको छ ।
बार्सिलोनाका नयाँ प्रशिक्षकमा डच फुटबल टिमका म्यानेजर रोनाल्ड कोमेनलाई सम्भावित व्यक्तिको रुपमा हेरिएको छ । यस्तै, टोेटनहमका पूर्व प्रशिक्षक मौरिसियो पोचिटिनो समेत बार्सिलोनाको प्रशिक्षकको रुपमा चर्चामा छन् ।

खेलाडीहरु प्रि–सिजनको तयारीमा फर्कनु अघि दुई हप्ताभित्र नयाँ प्रशिक्षक नियुक्त गर्नुपर्ने दबाबमा बार्सिलोना छ ।











-1762856022963.jpg&w=3840&q=75)

