काठमाडौं । नेपाल ब्याडमिन्टन संघले उपमहासचिव लवभक्त श्रेष्ठले दिएको राजीनामालाई स्विकृत गरेको छ ।
पछिल्लो समय साग खेलकुदको सामान खरिदको विवादमा तानिएको श्रेष्ठले संघको जिम्मेवारीबाट राजीनामा दिएका थिए ।
संघको शनिबार बसेको सचिवालय बैठकले श्रेष्ठको राजीनामा स्विकृत गर्ने निर्णय गरेको हो ।
राखेपको पूर्व कर्मचारी समेत रहेको श्रेष्ठले घरयासी काममा ब्यस्त हुनु परेको उल्लेख गर्दै संघमा राजीनामा पत्र बुझाएका थिए । उनले संघमा समय दिन नपाउने भन्दै राजीनामा स्विकृतीका लागि अनुरोध गरेका थिए ।
संघको शनिबारको सचिवालय बैठकले उपमहासचिवको राजीनामा स्विकृत गरेको अध्यक्ष रामजीबहादुर श्रेष्ठले खेलपाटीलाई बताए ।
सागको सामान खरिदमा भ्रष्टचार भएको उल्लेख गर्दै संघकै उपाध्यक्ष तथा राखेपका नवनियुक्त बोर्ड सदस्य सुवास श्रेष्ठले सार्वजनीक रुपमा घटनाको छानबिन गर्न माग गरेका थिए ।
लगत्तै युवा तथा खेलकुद मन्त्रालयले सागको सामान खरिदमा भएको भनिएको भ्रष्टचारको छानबिन गरि दोषीमाथि कारबाही गर्न राखेप सदस्य सचिवलाई निर्देशन दिएको छ ।
राखेपले छानबिन समिति गठन गरि सो बिषयको अनुसन्धान अघि बढाउने तयारी गरेको छ ।