एजेन्सी । कर छलीको आरोप लागेका रियल मड्रिडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो जरिवाना तिर्न तयार भएका छन् । कर छली गरेवापत रोनाल्डोले १६.४ मिलियन पाउण्ड जरिवाना तिर्न तयार भएको बीबीसीले समचार लेखेको छ ।
विश्वकप फुटबलमा स्पेनविरुद्ध ह्याट्रिक गरेलगत्तै रोनाल्डोले कर तिर्न राजी भएको समचार बाहिर आएको हो । शुक्रबार राति भएको खेलमा रोनाल्डोले ह्याट्रिक गरेपछि पोर्चुगलले स्पेनसँग ३ - ३ गोलको बराबरी खेलेको थियो । रोनाल्डोको यो पहिलो विश्वकप ह्याट्रिक समेत हो ।
कर छलीको आरोपमा रोनाल्डोविरुद्ध स्पेनिस अदालतमा मुद्दा चलिरहेको छ । रोनाल्डोलाई सन् २०११ देखि २०१४ सम्म कर नतिरेको आरोप लागेको छ । विश्वका सर्वाधिक कमाइ गर्ने रोनाल्डोलाई विभिन्न समयमा तस्विरहरु बिक्री गरेवापत आएको रकममा कर नतिरेको आरोप स्पेनिस कर अधिकारीले लगाएको छ । तर, ३३ वर्षिय रोनाल्डोले भने उक्त आरोप अस्विकार गर्दै आएका छन् ।
यसअघि रोनाल्डोले जरिवानावापत १२.९ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । तर, सरकारले रोनाल्डोको प्रस्ताव अस्वीकार गरेको एल मुन्डो पत्रिकाले लेखेको छ । कर छलीवापत जरिवाना तिर्न राजी भएसँगै रोनाल्डोले जेल सजाय भोग्नु नपर्ने भएको छ ।
यसअघि स्पेनिस अदालतले बार्सिलोनाका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेस्सीलाई पनि करछलीमा दोषि ठहर गरेको थियो । तर, मेस्सीले जेल बस्नुको सत्ता २ लाख ५२ हजार पाउण्ड तिरेका थिए ।