काठमाडौं । कोरोना भाईरसको संक्रमणलाई मध्येनजर गर्दै सरकारले लगाएको १ सय २० दिने लामो लकडाउन मंगलबार रातिबाट अन्त्य भएको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत ११ गतेबाट लगाएको लकडाउन मंगलबार रातिबाट अन्त्य गर्ने निर्णय गरेको थियो ।
लकडाउन खुलेपनि क्षेत्रमा अझै प्रतिबन्ध कायम रहेको छ । स्विमिङ पुल, जिमखाना लगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति भने अर्को सूचना नआएसम्मको लागि बन्द रहनेछ ।
यद्दपी, अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र प्रारम्भिक खेलहरु भने भदौं १ गतेबाट गर्न सकिनेछ ।
सरकारले भदौं १ बाट प्रशिक्षणको अनुमति दिएपनि नेपाल क्रिकेट संघ (क्यान) भने अन्योलमा परेको छ ।
राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण संचालन आतुर र तयारी अवस्थामा रहेको क्यान टिमले अभ्यास गर्न पाउने कि नपाउनेमा अझै दोधारमा देखिन्छ ।
'मन्त्रिपरिषदको निर्णय हुनुहोस् । लकडाउन खुलेपनि गर्न नपाइने गतिविधिमा खेलकुद समेत छ । सिमित खेलाडीलाई अभ्यासको हिसाबमा पाईएला तर खेलको हिसाबमा नपाइने हो कि,' क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, 'जे सुकै होस्, हामीले सरकारबाट अभ्यास सुरु गर्न आदेश पाउने वित्तिकै अभ्यास सुचारु गर्छौं ।'
कोरोनाको महामारी र लक डाउनसँगै अधिकांस राष्ट्रिय टिमका खेलाडीहरु गृह जिल्लामा रहेका छन् । काठमाडौंमा रहेका केही खेलाडी मात्र व्यक्तिगत अभ्यासमा छन् ।
सरकारबाट सामुहिक अभ्यास गर्न अनुमति पाए सबै खेलाडीलाई सरकारले जारी गरेको नियम पालना गर्दै काठमाडौं झिकाउन क्यान तयार रहेको प्याकुरेलले बताए ।
तर, अहिलेको अवस्थामा टिमको क्याम्प राख्न नसकिने उनले प्रष्ट पारे ।
'ठुलो समस्या भनेको खेलाडी ल्याएर काँहा राख्ने ?, होटल खुलेको छैन, त्यसैले क्याम्प राख्न सकिने अवस्था छैन,' उनले थपे, 'अभ्यास गर्न पाए आजबाटै सुरु गर्न तयार छौं । सरकारले अभ्यास गर्न अनुमति दिए, खेलाडी ल्याउने वातावरण बनाईदिए अन्य व्यवस्थापन मिलाएर अभ्यास गर्न तयार छौं ।'
यसअघि क्यानले खेलाडीलाई आवश्यक सावधानी अपनाउँदै प्रशिक्षणको लागि सरकारसँग अनुमति माग्दै आएको थियो । तर, सबै प्रकिया र सावधानी अपनाउछु भन्दा समेत सरकारले अनुमती दिएको थिएन् ।