एजेन्सी । इंग्ल्यान्डका बलर जोफ्रा आर्चरले वेष्ट इन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेल्ने भएका छन् ।
कोभिड-१९ को जैविक सुरक्षाको नियम उलंघन गरेपछि आर्चर दोस्रो टेष्टमा टिममा थिएनन् ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले उनलाई कारबाही गर्दै टिम बाहिर राखेको थियो । यस्तै बोर्डले आर्चरलाई जरिवाना समेत गरेको थियो।
घरेलु मैदानमा वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्ट सकिएपछि उनले नियम उलंघन गरेका थिए ।
कोरोना भाईरसको कारण सिरिज जैविक रूपमा सुरक्षित बनाउन टेष्ट बन्द रंगशाला भईरहेको छ । खेलाडीले अनिवार्य रुपमा'बायो-सेक्योर प्रोटोकल' नियम पालना गर्नु पर्नेछ ।
तर, आर्चर पहिलो टेष्ट सकिएपछि नियम उलंघन गर्दै घर गएका थिए ।
घरबाट फर्किएपछि आर्चर पाँच दिनको आईसोलेसनमा बसेका थिए । उनको आईसोलेसन अवधि मंगलबारबाट पुरा भएको छ ।
यस्तै उनको कोरोना परिक्षण गरिएको थियो । उनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
इंग्ल्यान्डले शुक्रबारबाट ओल्ड ट्राफोर्डमा वेष्ट इन्डिजसँग तेस्रो टेष्ट खेल्दैछ ।
दुई टोलीबीचको सिरिज १-१ को बराबरीमा रहेको छ । म्यान्चेस्टरको सिरिज दुई टोलीका निर्णयक सिरिज हो ।