एजेन्सी । इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स आईसीसीको टेष्ट अलराउन्डर वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा स्टोक्स शीर्ष स्थानमा उक्लिएका हुन् ।
वेष्ट इन्डिजविरुद्धको टेष्ट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेपछि स्टोक्सले वरीयता सुधार गरेका हुन् ।
उनले वेष्ट इन्डिजका कप्तान जासन होल्डरलाई पछि पार्दै शीर्ष स्थान हात पारेका हुन् ।
वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टमा इंग्ल्यान्डलाई जित दिलाउन स्टोक्सले पहिलो इनिङ्समा १ सय ७६ रनको शतकीय इनिङ्स खेल्दै १ विकेट लिएका थिए ।
दोस्रो इनिङ्समा उनले अविजित ७८ रन बनाउदै २ विकेट लिएका थिए । उनी प्लेयर अफ दि म्याच समेत बनेका थिए ।
वरीयताको अलराउन्डरतर्फ भारतका रबिन्द्र जडेजा तेस्रो, न्युजिल्यान्डका मिचेल स्टार्क चौंथो र भारतका रविचन्द्र आश्विन पाँचौ स्थानमा रहेका छन् ।
ब्याटिङतर्फ पनि स्टोक्स तेस्रो स्थानमा उक्लिएका छन् । यस अघि उनी दशौँ स्थानमा रहेका थिए ।
ब्याटिङतर्फ अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ र भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली दोस्रो स्थानमा यथावत रहेका छन् ।
अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने चौंथो र न्युजिल्याण्डका केन विलियम्सन पाँचौ स्थानमा रहेका छन् ।
पाकिस्तानका बाबर आजम छैटौं, अष्ट्रेलियाका डेभिड वार्नर सातौं, भारतका चेतेश्वर पुजारा आठौं, इंग्ल्यान्डका जोय रुट नवौं र भारतका अजिन्का रहाने दशौँ स्थानमा रहेका छन् ।
बलिङतर्फ अष्ट्रेलियाका पाट कुमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् । न्युजिल्यान्डका निल वाग्नेर दोस्रो स्थानमा उक्लिएका छन् भने वेष्ट इन्डिजका जासन होल्डर तेस्रो स्थानमा झरेका छन् ।
यस्तै न्युजिल्यान्डका टिम साउथी चौंथो र दक्षिण अफ्रिकाका कागीसो राबडा पाँचौं स्थानमा छन् ।