एजेन्सी । अष्ट्रेलियामा यसै बर्ष हुने तय भएको टी–२० विश्वकपबारे निर्णय गर्न भोलि (सोमबार) अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को बैठक बस्दैछ ।
अनलाईनमार्फत हुने बैठकमा टी–२० विश्वकपको भविष्यको बिषयमा छलफल हुनेछ ।
ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को आयोजनाको योजना गरिरहेको भारत टी–२० विश्वकप स्थगितको पक्षमा छ । विश्वकपलाई स्थगित गरेर भारत आईपीएलको आयोजना सफल बनाउन चाहन्छ ।
टी–२० विश्वकप अष्ट्रेलियामा अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म हुने तय छ । अष्ट्रेलिया क्रिकेट बार्डले भिक्टोरिया राज्यमा कोरोना भाईरसको बढ्दो संक्रमणका कारण आयोजना गर्न नसकिने बताएको छ ।
भारतमा समेत कोरोनाको संक्रमितको संख्या १० लाख बढी छ । जसका कारण मृतकको संख्या २५ हजार बढी छ । तर केन्द्र सरकारको सहमतीमा प्रतियोगिता यूएईमा गर्न सकिने भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को विश्वास छ ।
‘पहिलो कदम एसिया कप स्थगित गर्न आवश्यक छ । अष्ट्रेलिया क्रिकेटले प्रतियोगिताको आयोजना गर्न खासै उत्सुक छैन । तर पनि औपचारिक निर्णय भएको छैन ।’ बीसीसीआईका एक सदस्यले भनेका छन् ।
यस बर्ष हुने टी–२० विश्वकप अष्ट्रेलियामा सन् २०२२ मा आयोजना हुने सम्भावना छ । अष्ट्रेलियाले सेप्टेम्बरको अन्तिममा ईङ्ल्याण्डबिरुद्ध हुने सिमित ओभरको सिरिजका लागि तयारी अघि बढाएको थियो ।
सोही अनुसार अष्ट्रेलियाले सिरिजका लागि २६ सदस्यीय सुरुवाती टिमको घोषणा समेत गरेको थियो । अष्ट्रेलियाको पछिल्लो कदमले विश्वकप आयोजना निर्धारित समयमा हुनेमा आशंका उत्पन्न भएको छ ।
आईसीसीले विश्वकपको बिषयमा सबै विकल्पमा छलफल गर्न चाहेको छ । तर आयोजकले देशले औपचारिक निर्णय लिन नसक्दा टी–२० विश्वकपबारे आधिकारिक घोषणा हुन सकेको छैन ।