एजेन्सी । पाहुना टोलि वेष्ट इन्डिजविरुद्धको दोस्रो टेष्टको पहिलो इनिङ्समा इंग्ल्यान्डले उच्च योगफल बनाएको छ ।
म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा शुक्रबार इंग्ल्यान्डले ९ विकेटको क्षतिमा ४ सय ६९ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गरेको छ ।
इंग्ल्यान्डका लागि डम सिब्ले र बेन स्टोक्सले शतकीय इनिङ्स खेले । स्टोक्सले १ सय ७६ रनको शतकीय इनिङ्स खेल्दा सिब्ले १ सय २० रन बनाए ।
जोस बट्लरले ४० रन जोड्दा डम बेस ३१ रनमा अविजित रहे । कप्तान जोय रुटले २३ र रोरी ब्रुन्सले १५ रन बनाए ।
वेष्ट इन्डिजका रोस्टन चेसले ५ तथा केमार रोचले २ विकेट लिए ।
पहिलो टेष्ट गुमाएको इंग्ल्यान्डलाई दोस्रो टेष्ट जित्नै पर्ने दबाब रहेको छ । पहिलो टेष्टमा इंग्ल्यान्ड ४ विकेटले पराजित भएको थियो ।
सिरिज जोगाउन समेत इंग्ल्यान्डलाई दोस्रो टेष्टमा जित बाहेक अन्य बिकल्प रहेको छैन ।
यता, वेष्ट इन्डिज भने दोस्रो टेष्ट जित्दै सिरिज आफ्नो बनाउन चाहन्छ ।