एजेन्सी । पुर्व विश्व नम्बर एक वेलायती टेनिस खेलाडी एन्डी मुर्रेले जितबाट ग्राण्डस्लाम टेनिस प्रतियोगितामा पुनरागमन गरेका छन् । सोमबार राति युएस ओपनको पहिलो चरणमा अष्ट्रेलियाका जेम्स डकवर्थलाई हराउदै मुर्रेले जितबाट पुनरागमन गरेका हुन् ।
मुर्रेले युएस ओपन टेनिस खेल्दै १४ महिनापछि ग्राण्डस्लाम टेनिसमा पुनरागमन गरेका हुन् । र, युएस ओपनको पहिलो चरणमा मुर्रेले पहिलो सेट गुमाएपनि उत्कृष्ट पुनरागमन गर्दै जित निकालेका हुन् ।
लुइस अम्स्ट्रोङ स्टेडियममा भएको खेलमा मुर्रेले डकवर्थमाथि ६- ७ (५-७), ६ -३, ७ - ५ र ६ - ३ को जित निकालेका हुन् । हिप इन्जुरीको शल्यक्रियापछि मुर्रेले पहिलोपटक ग्राण्डस्लाम टेनिस खेलेका हुन् ।
जितपछि बोल्दै मुर्रेले आफुले उत्कृष्ट प्रदर्शनको आश नराखेको बताए । 'ग्राण्डस्लाम टेनिसमा फर्किएको छु । खेलमा मैले अद्भुत खेल्न सकिन । अहिले मैले उत्कृष्ट खेल्ने आशा समेत गरेको छैन तर, खेलबाट दोस्रो चरण पुग्दा खुसी छु,' मुर्रेले भने ।
अब ३१ बर्षीय मुर्रेले दोस्रो चरणमा स्पेनिस खेलाडी फर्नान्डो भर्डासकोसंग खेल्ने छन् ।