एजेन्सी । पाकिस्तानका युवा ब्याट्सम्यान हेइदर अलीले क्रिकेटमा आफ्नो रोल मोडल भारतका ब्याट्सम्यान रोहित शर्मा भएको बताएका छन् ।
१९ वर्षकै उमेरमा सनसनी प्रदर्शन गर्दै पाकिस्तानको टिममा स्थान बनाउन सफल अलीले आक्रामक ब्याटिङको कारण रोहितबाट आफु प्रेरित भएको बताएका हुन् ।
एएफपीसँग कुरा गर्दै अलीले रोहितले मैदानमा भारतीय टिमलाई सुरुवात गराउने तरिका मन पर्ने समेत बताए ।
'रोहित शर्मा मेरो रोल मोडल हो । किनभने जसरी उनले भारतको टिमलाई सुरुवात गराउछन् त्यो आश्चर्यजनक छ,' अलीले भने, 'चाहे टेष्ट, एकदिवसीय होस् या टी-ट्वान्टी । उनी सोचविचार गरेर आउँछन् र बलरलाई आक्रमण गर्छन । म पाकिस्तानलाई त्यस्तै सुरुवात दिन चाहन्छु ।'
भारतका उपकप्तान समेत रहेका रोहितलाई विश्वकै खतरनाक ओपनर ब्याट्सम्यान मानिन्छ । उनी टी-ट्वान्टीमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी हुन् । १ सय २७ छक्कासहित उनले कीर्तिमान बनाएका थिए ।
'उनी ५० रन बनाउँदा १०० बनाउने सोच्छन । १०० बनाउदा १५० बनाउने सोच्छन्,' अलीले थपे ।
पाकिस्तान र भारतबीचको राजनैतिक द्वन्द्वको कारण लामो समयबाट दुई देशले एक अर्काविरुद्ध सिरिज खेलेका छैनन् । पछिल्लो पटक दुई टोलीले सन् २०१२ मा सिरिज खेलेका थिए । त्यसबाहेक दुई टिम आईसीसीको प्रतियोगितामा मात्र खेलेका छन् ।
पाकिस्तानका युवा स्टार अलीले दक्षिण अफ्रिकामा भएको आईसीसी यू-१९ विश्वकप क्रिकेटमा पाकिस्तानलाई सेमिफाइनलसम्म पुर्राएका थिए ।