एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टिम किङ्स इलाभेन पन्जाबका मालिक मध्येका एक नेस वाडियाले यस वर्ष आईपीएल गराउन सहज नभएको बताएका छन् ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल सेप्टेम्बरको अन्तिमबाट गर्ने तयारी गरिरहेको बेला वाडियाले भने यस वर्ष आयोजना गर्न गार्हो भएको बताएका छन् ।
अष्ट्रेलियालाई टी-ट्वान्टी विश्वकप आयोजना गर्न जत्तिकै भारतलाई आईपीएल गर्न जटिल भएको उनको भनाई छ ।
'अहिलेको अवस्थामा १६ टिमका साथ टी-ट्वान्टी विश्वकप आयोजना गर्नमा धेरै जटिलताहरू छन् । आईपीएल आयोजना गर्न पनि सजिलो हुँदैन । यो त्यस्तो ठाउँमा हुनुपर्दछ जहाँ दुवै क्षेत्र मैदान र बाहिर पर्याप्त पूर्वाधार होस्,' वाडियाले भने ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको कारण आईपीएल पटक पटक सर्दै आएको थियो ।
सुरुवातमा मार्च २९ देखि मे २४ सम्म आईपीएल गर्ने घोषणा गरिएको थियो । तर, कोरोनाको कारणले प्रतियोगिता केही साता पछि धकेलेको थियो ।
त्यसपछि भने बीसीसीआई प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरेको थियो ।
यस वर्ष अष्ट्रेलियामा तय भएको विश्वकप हुने नहुनेमा अन्योलता रहेको छ । विश्वकप आयोजना नभए भारतले आईपीएल गराउने योजना बनाएको छ ।
आईपीएल ठूलो धनराशिको प्रतियोगिता भएको कारण रद्द भएमा बीसीसीआईलाई ठूलो आर्थिक नोक्सानी हुनेछ ।
त्यसैले बीसीसीआई कुनै हालतमा प्रतियोगिता गराउन चाहन्छ ।