एजेन्सी । पुर्व विश्व नम्बर एक सेरेना विलियम्स सर्वाधिक कमाई गर्ने महिला खेलाडी बनेकी छिन् । सेरेना फोर्ब्स पत्रिकाले बुधबार निकालेको सर्वाधिक कमाई गर्ने महिला खेलाडीको शीर्ष स्थानमा परेकी हुन् ।
फोर्ब्सका अनुसार सेरेनाको सन् २०१८ को कमाई १४ मिलियन पाउण्ड रहेको छ । बच्चाको आमा बनेको १४ महिनापछि टेनिस कोर्टमा फर्किएकी सेरेनाले बच्चा जन्माएपछिको प्रतियोगिताबाट मात्र ६२ हजार पाउण्ड कमाई गरेकी थिइन् ।
यस्तै दोस्रो स्थानमा डेनमार्ककी टेनिस स्टार केरोलाईन वोज्निएकी रहेकी छिन् । उनको कमाई १०.१ मिलियन पाउण्ड रहेको छ । तेस्रो स्थानमा रहेकी अमेरिकी टेनिस खेलाडी स्लोअने स्टेफेन्सको ८.७ मिलियन पाउण्ड कमाई रहेको छ ।
सर्वाधिक कमाई गर्ने खेलाडीको चौथो स्थानमा जर्मनकी टेनिस खेलाडी गार्बिन मुगुरुजा र पाँचौ स्थानमा रुसी टेनिस सुन्दरी मारिया सारापोभा रहेकी छिन् । मुगुरुजाको कमाई ८.५ मिलियन पाउण्ड र सारापोभाको ८.१ मिलियन पाउण्ड रहेको छ ।
फोर्ब्सले निकालेको सर्वाधिक कमाई गर्ने महिला खेलाडीको शीर्ष १० भित्र अधिकांस टेनिस खेलाडी रहेका छन् । जसमध्ये २ खेलाडीमात्र टेनिस भन्दा बाहिरका छन् ।
टेनिसभन्दा बाहिर ब्याडमिन्टन खेलाडी पिभी सिन्धु र कार रेसकी ड्यानिका प्याट्रिक रहेकी छिन् । सातौं स्थानमा रहेकी भारतकी ब्याडमिन्टन स्टार सिन्धुको कमाई ६.६ मिलियन पाउण्ड रहेको छ । नवौं स्थानमा रहेको प्याट्रिकको ५.८ मिलियन पाउण्ड कमाई रहेको छ ।
पुरुषतर्फको सूची भने फोर्ब्सले गत जुन महिनामै निकालेको थियो । जसमा बक्सिङ खेलाडी फ्लोइड मेवेदर शीर्ष स्थानमा रहदा फुटबलर लियोनल मेस्सी दोस्रो र क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा रहेका थिए ।