एजेन्सी । सर्बियाका नोभाक जोकोभिचले सिनसिनाटी मास्टर्स टेनिसको उपाधि जितेका छन् । सोमबार बिहान भएको फाइनलमा स्विस स्टार रोजर फेडेररलाई हराएर जोकोभिचले उपाधि आफ्नो बनाए ।
अमेरिकाको ओहियोमा जोकोभिचले सात पटकको च्याम्पियन फेडेररलाई ६ - ४ र ६ - ४ को सेटमा हराउदै उपाधिमाथि कब्जा जमाएका हुन् । जोकोभिचले पहिलोपटक सिनसिनाटीको उपाधि जितेको हो । विम्बल्डन च्याम्पियन जोकोभिच सिनसिनाटी मास्टर्समा यसअघि पाँच पटक उपविजेता बनेका थिए ।
यसअघि सेमिफाइनलमा जोकोभिचले मारिन सिलिकलाई हराएर फाइनलमा स्थान बनाएका थिए । फेडेररले बेल्जियमका डेभिड गोफिनबाट वाकोभर पाउदै जोकोभिचसंगको भेट पक्का गरेका थिए ।
महिलातर्फको उपाधि नेदरल्याण्डकी किकी बेर्टेन्सले जितेकी छिन् । बेर्टेन्सले फाइनलमा विश्व नम्बर एक सिमोना हालेपलाई २ - ६, ७ - ६ र ६ - २ को सेटमा हराएर उपाधि जितिन् ।
बेर्टेन्सको यो करियरको सबैभन्दा ठुलो उपाधि समेत हो । यस्तै बेर्टेन्स सिनसिनाटी मास्टर्स जित्ने पहिलो डच खेलाडी समेत बनिन् ।