एजेन्सी । भारतीय टिमका कप्तान विराट कोहली र दक्षिण अफ्रिकाका पूर्व कप्तान एबी डी भिलियर्स आधुनिक क्रिकेटका लेजेण्ड हुन् ।
उनीहरुलाई जेन्टलम्यान अफ क्रिकेट भनेर समेत चिनिने गरिन्छ ।
यी दुवै खेलाडीको विश्वभर ठुलो संख्यामा समर्थक रहेका छन् । उनीहरु दुवै खेलाडी विश्वमा सर्वाधिक रुचाइएको खेलाडीमा पर्छन ।
यस्तै, कोहली र डी भिलियर्स लामो समयबाटइण्डियन प्रिमियर लिग (आईपीएल) मा एकै टिमबाट खेल्दै आएका छन् ।
उनीहरु रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) बाट खेल्दै आएका छन् । त्यसैले उनीहरुको मित्रता समेत राम्रो रहेको छ ।
कोहली अझै क्रिकेटमा ब्यस्त रहेका छन् र भारतीय क्रिकेट टिमको कप्तानी गरिरहेका छन् । तर, डी भिलियर्सले भने सन् २०१८ देखी अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए ।
लामो समयबाट यी दुई खेलाडी मध्ये को उत्कृष्ट भन्ने विषयमा विवाद समेत हुँदै आएको छ ।
कोहली टेक्निकल ब्याटिङले प्रख्यात रहेका छन् भने डी भिलियर्सलाई मिस्टर ३६० को उपनामले चिनिन्छ ।
कोहली लोभ लाग्दो क्रिकेटिङ सट प्रहार गर्ने गर्छन् भने डी भिलियर्स मैदानको कुनै पनि भागमा लामो सट प्रहार गर्ने क्षमता राख्दछन् ।
दुवै खेलाडीले राष्ट्र तथा आफुले खेलेको टिमका लागि ठुलो र महत्वपूर्ण भूमिका खेलका छन् ।
तर, अष्ट्रेलियाका चर्चित क्रिकेटर ब्राड हगले यी दुई खेलाडीमा को उत्कृष्ट भन्ने प्रश्नमा आफ्नो तर्क सार्वजनिक गरेका छन् । उनले एक क्रिकेट समर्थकको प्रश्नमा आफ्नो तर्क राखेका हुन् ।
हगले सामाजिक संजाल ट्वीटरमा डी भिलियर्स भन्दा कोहली उत्कृष्ट रहेको बताएका छन् ।
अहिलेको अवस्थामा विराट राम्रो लयमा रहेका छन् । तर, डी भिलियर्स अन्तराष्ट्रिय क्रिकेटबाट टाढा रहेको कारण कोहली अगाडी रहेको उनको भनाई छ ।
अष्ट्रेलियाका पूर्व स्पिनर हगले समर्थकको प्रश्नको उत्तरमा भनेका छन्, 'कोहली, तथ्यांकले पुरा गर्छ ।'