काठमाडौं । एभरेस्ट प्रिमियर लिग (ईपीएल) को पहिलो संस्करण सन् २०१६ मा भएको थियो । जुन नेपालको नेपालको दोस्रो फ्रेन्चाइज क्रिकेट थियो ।
पहिलो संकरणमा नेपाल प्रिमियर लिग (एनपीएल) नामबाट ईपीएलको सुरुवात भएको थियो । पहिलो संस्करणमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लिगमा शरद भेषवाकरको कप्तानीमा रहेको पन्चकन्या तेजले उपाधि जितेको थियो । पन्चकन्याले कलर्स एक्स फ्याक्टरलाई ४० रनले पराजित गर्दै उपाधि जितेको थियो ।
तर, नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा रहेको अवस्थामा निजि क्षेत्रले नेपाल प्रिमियर लिग संचालन गर्न नपाउने भन्दै अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले एनपीएल रोक्न आग्रह गरेको थियो ।
फलस्वरूप एनपीएलको नाम परिवर्तन गरेर दोस्रो संस्करणबाट एभरेष्ट प्रिमियर लिग (ईपीएल) बनाइएको थियो । हाल ईपीएलले तेस्रो संस्करण पार गरिसकेको छ ।
पहिलो संस्करणमा सर्वाधिक रन बनाउने ५ खेलाडीको ब्याख्या तल गरिएको छ ।
१. आशिफ शेख (पन्चकन्या तेज)
तत्कालिन १५ वर्षे आशिफ शेख पहिलो संस्करणको ईपीएलको सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
पन्चकन्या तेजलाई उपाधि दिलाउन आशिफले लिगमा मुख्य भूमिका खेलेका थिए ।
६ खेलमा उनले १ अर्धशतक र १ शतक बनाउंदै २ सय २० रन बनाएका थिए ।
आशिफ ईपीएलमा शतक बनाउने पहिलो खेलाडी हुन् । उनले कलर्स एक्स फ्याक्टरविरुद्ध फाइनल खेलमा १ सय ११ रनको अविजित इनिङ्स खेलेका थिए ।
यस्तै उनले लिग भर सर्वाधिक छक्का समेत प्रहार गरेका थिए ।
उनले लिगमा १२ छक्का प्रहार गरेका थिए । यस्तै आशिफले १६ चौका समेत प्रहार गरेका थिए ।
२. पारस खड्का (विशाल वारियर्स)
पारस खड्का पहिलो संस्करणको ईपीएलमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी हुन् ।
खड्काले ४ खेल खेल्दा ३ खेलमा ब्याटिङ गर्दै १ सय ८२ रन बनाएका थिए । पारसले लिगमा दुई अर्धशतक समेत प्रहार गरेका थिए । उनी पहिलो संस्करणको लिगमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन् ।
लिगको पाँचौं खेलमा सगरमाथा लेजेण्डविरुद्ध पारसले बनाएको ९९ रन बनाएका थिए । शतकबाट एक रनले चुकेका पारसको त्यो नै ईपीएल इतिहासमा सर्वाधिक रन हो ।
पहिलो संस्करणमा पारसले १३ चौका प्रहार गरेका थिए । यस्तै उनले १३ छक्का समेत प्रहार गरेका थिए । पारसको कप्तानी पारीमा समेत उनको टिम वारियर्स फाइनल पुग्न असफल भएको थियो ।
लिग चरणको ५ खेलमा मात्र २ जित निकाल्दा वारियर्स ६ अंकका साथ तेस्रो स्थानमा रनाहा फाइनल पुग्न असफल भएको थियो ।
३. सुनिल धमला (सगरमाथा लेजेन्ड्स)
युवा खेलाडी सुनिल धमलाले त्यस समय निकै राम्रो लयमा रहेका थिए । यू-१९ विश्वकपमा राम्रो प्रदर्शन पछि धमला सबैको नजरमा आएका थिए । त्यसैबेला धमलालाई सगरमाथा लेजेन्ड्सले अनुबन्धन गरेको थियो ।
लिगमा धमलाले राम्रो प्रदर्शन समेत गरेका थिए । उनले ५ खेलमा १ सय ७९ रन बनाएका थिए । उनको ब्याटबाट निक्लेको त्यो रन लिग भरका खेलाडीले बनाएको रनमा तेस्रो स्थानमा रहेको थियो ।
धमलाले लिगमा एक अर्धशतक समेत बनाएका थिए । उनले विशाल वारियार्सविरुद्ध ८७ रन बनाएका थिए जुन उनको सर्वाधिक रन थियो ।
सुनिल धमलाले प्रतियोगिता भर १५ चौका र ७ छक्का प्रहार गरेका थिए ।
४. ज्ञानेन्द्र मल्ल (कलर्स एक्स फ्याक्टर)
कलर्स एक्स फ्याक्टर ईपीएलको पहिलो संस्करणको फाइनलिस्ट टिम हो । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको एक्स फ्याक्टर शरदको टिम पन्चकन्या तेजसँग फाइनलमा पराजित भएको थियो ।
तर कलर्स एक्स फ्याक्टरका लागि कप्तान ज्ञानेन्द्र मल्ल टिमको लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ६ खेलमा १ सय ७२ रन बनाएका थिए ।
मल्लले लिगमा एक अर्धशतक बनेका थिए । लिग चरणको खेलमा सगरमाथा लेजेन्ड्सविरुद्ध ५२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
लिग भर मल्लले १७ चौका र ४ छका प्रहार गरेका थिए । मल्ल पहिलो संस्करणको ईपीएलमा सर्वाधिक चौका प्रहार गर्ने खेलाडी हुन् ।
५. राजेस पुलामी मगर (कलर्स एक्स फ्याक्टर)
राजेस पुलामी मगर पहिलो संस्करणको ईपीएलमा सर्वाधिक रन बनाउने पाँचौ खेलाडी हुन् ।
यस्तै उनी कलर्स एक्स फ्याक्टरका लागि सर्वाधिक रन बनाउने दोस्रो खेलाडी समेत हुन् ।
राजेस पुलामी मगरले ६ खेलमा १ सय ४५ रन बनाएका थिए । यस्तै उनले १ अर्धशतक समेत प्रहार गरेका थिए ।
लिग चरणको खेलमा सगरमाथा लेजेन्ड्सविरुद्ध ५६ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।
त्यस खेलमा बाहेक अन्य खेलमा राजेलले औषत प्रदर्शन गरेका थिए । लिग भर उनले ५ चौका र ५ छका प्रहार गरेका थिए ।
उनको टिम फाइनलमा पराजित भएको थियो ।