एजेन्सी । सर्बियन टेनिस स्टार नोभाक जोकोभिच सिनसिनाटी मास्टर्स टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा फ्रान्सका एड्रिन मन्नारिनोलाई हराएर जोकोभिचले तेस्रो चरणको यात्रा तय गरेका हुन् ।
अमेरिकाको ओहियोमा भएको खेलमा दशौं वरीयताका जोकोभिचले एड्रिनलाई ४ – ६, ६ – २ र ६ – १ को सेटमा पराजित गरे । पहिलो सेट गुमाएपनि विम्बल्डन च्याम्पियन जोकोभिच खेलमा फर्किएका थिए ।
१३ पटकको ग्राण्डस्लाम बिजेता जोकोभिचले अब बुल्गेरियाका ग्रिगोर दिमित्रोभसंग खेल्ने छन् । दिमित्रोभले जर्मनीका मिशा जेभेरेजलाई हराएर तेस्रो चरणमा स्थान पक्का गरे ।
महिलातर्फ साबिकको बिजेता गार्बिन मुगुरुजा भने प्रतियोगिताबाट बाहिरिएकी छिन् । दुई पटकको ग्राण्डस्लाम बिजेता स्पेनिस मुगुरुजा युक्रेनकी लेसिया टुजरेन्कोसंग पराजित भईन् ।
सातौं वरीयताकी मुगुरुजालाई ४५ औं वरियताकी लेसियाले २ – ६, ६ – ४ र ६ – ४ ले हराईन् ।