काठमाडौं । स्कटल्याण्डका जर्ज मुन्सेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
ब्याट्सम्यान मुन्सेले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । पोखराले बिहिबार प्रेस विज्ञप्ति निकाल्दै मुन्सेले पोखराबाट खेल्ने जनाएको हो ।
मुन्से पोखराले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यस अघि पोखराले वेष्ट इण्डिजका स्टार क्रिस गेल र केस्रिक विलियम्सलाई अनुबन्ध गरिसकेको छ ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ ।
को हुन् मुन्से ?
मुन्से बाँया हाते आक्रामक ब्याट्सम्यान हुन् । यस्तै गतवर्ष नेदरल्यान्ड्सविरुद्धको खेलमा अविजित शतकीय इनिङ्स खेलेका थिए । २५ बलमा शतक प्रहार गरेको उनको शो ब्याटिङ इनिङले इएसपीएन अवार्डको ब्याटिङपर्फर्मेन्स अफ दि इयर सन् २०१९ जितेन सफल भएका थिए ।
मुन्सेको नाममा एककै ओभरमा ६ छक्का प्रहार गरेको कीर्तिमान समेत रहेको छ ।
गत वर्ष ग्लूस्टरसायरबाट खेलेका मुन्सेले बाथविरुद्धको मैत्रीपूर्ण खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । मुन्सेले वेष्ट इण्डिजका पूर्व महान खेलाडी सर गार्फिल्ड सोब्बरको कीर्तिमानसँग बराबर गरेका थिए ।
मुन्सेले अष्ट्रेलियाका एलेन हिविटलाई एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए ।
२६ वर्षे मुन्सेले बाथविरुद्ध २० छक्काको मद्दतले ३९ बलमा १४७ रन बनाएका थिए । उनले २५ बलमा नै शतक पुरा गरेका थिए ।
मुन्सेले नेपाल भ्रमण र ईपीएलका लागि निकै आतुर रहेको बताएका छन् ।
'यसवर्ष नेपाल भ्रमण र ईपीएल खेल्न अब प्रतिक्षा गर्न सक्दिन । यस ओअतक साच्चिकैको उत्कृष्ट प्रतियोगिता हुने बताइएको छ,' मुन्सेले भने, 'म पोखरा राइनोजबाट सहभागी हुनेछु र सबैलाई हेर्न निकै उत्साहित छु ।'