काठमाडौं । ओसिस क्रिकेट एकेडेमीले दोस्रो संस्करणको हिमालय क्रिकेट लिग दुई दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा एक इनिङ्स १० रनको जित निकालेको छ ।
मुलपानी क्रिकेट मैदानमा बिहिबार ओसिसले बालुवाटार किकेट क्लबलाई एक इनिङ्स १० रनले हराएको हो ।
ओसिसले ४ सय ४७ रन बनाएर आफ्नो इनिङ्स समाप्तिको घोषणा गरेपछि दोस्रो इनिङ्स थालेको बालुवाटार ४९ ओभरमा अलआउट हुँदै १ सय ७२ रनमा समेटिएपछि ओसिस एकै इनिङ्समा विजयी भएको हो ।
बालुवाटारका लागि नविन तामाङले ६८ रनको अर्धशतकीय इनिङ्स खेल्दा पुजन गुरुङले २३ रन बनाए । बालुवाटारलाई सस्तैमा समेट्न ओसिसका सचिन शर्माले ५ विकेट लिए । सुमित श्रेष्ठको नाममा ३ विकेट रह्यो ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको बालुवाटाले पहिलो इनिङ्समा ९ विकेट गुमाएर २ सय ६५ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो ।
बालुवाटारका दिनेश बुढा मगरले १ सय २८ रनको शतकीय इनिङ्स खेले । यस्तै ओपनर ब्याट्सम्यान अभिनाश सिंहले ४५ रन तथा नविन तामाङले २६ रन बनाए । ओसिसका स्वरुप श्रेष्ठ एक्लैले ५ विकेट लिए ।
बालुवाटारले २ सय ६५ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गरेपछि आफ्नो पहिलो इनिङ्समा ओसिसले ७ विकेट गुमाएर ४ सय ४७ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्यो ।
ओसिसको जितमा सचिन शर्मा र सुमित श्रेष्ठले शतकीय इनिङ्स खेले । सचिनले १ सय १८ रन बनाउँदा सुमित १ सय ७ रनमा अविजित रहे ।
यस्तै आशिष झाले ६० रनको अर्धशतकीय इनिङ्स खेल्दा सागर भण्डारीले अविजित ३९ रन बनाए । त्यस्तै सुदीप बस्नेतले २३ रन बनाए । बालुवाटारका सुरेश बस्नेतले ३ तथा नविन तामाङले २ विकेट लिए ।